थप समाचार मेनु

छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित

- / शनिबार, चैत ४, २०७९ ०९:३७

 

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । 

सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए । समयमै सडक विस्तारको काम सकिन्छ र फेरि सोही ठाउँमा व्यवसाय सुरु गर्ने सोच राखेका बस्यालले चाँडै सडकको काम सकिने अवस्था देखेका छैनन् । यद्यपि अन्यत्र ठाउँमा तत्कालै व्यवसाय सुरु गर्ने अवस्था पनि नरहेको उनी बताउँछन् । “व्यवसाय छाड्दा लाखौँ नोक्सान भयो दुई वर्षभन्दा बढी हुँदा पनि अन्यत्र व्यवसाय सुरु गर्न सकिएको छैन”, उनले भने, “अहिले त झन् व्यापार पनि छैन, चर्को घर भाडा तिरेर पसल गर्न पनि सोच्नुपर्ने अवस्था छ ।” 

बुटवलकै अर्को महत्वपूर्ण व्यापारिक केन्द्र राजमार्ग चौराहामा व्यापार गर्ने सुजन श्रेष्ठ पनि सडक विस्तारको कामले गति लिनेमा विश्वस्त छैनन् । आफूहरुको व्यवसायी प्रतिष्ठान अगाडि सडक नाली निर्माणको काम अलपत्र अवस्थामा छोडिएको लामो समयम भयो तर यसलाई पूरा गर्नेतर्फ निर्माण कम्पनीले चासो नदिँदा दैनिक व्यापारमा समस्या परेको उनको गुनासो छ । 

उनी पनि व्यवसायीलाई बैंकको चर्को ब्याजदर, चर्को घर भाडा र सडक विस्तारको कामले व्यवसायमा अवरोधजस्ता कारणले कैयन व्यवसायी विस्थापित भएको र यो अवस्थामा बढ्दै गएको बताउछन् । बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा तीन दशमलव पाँच किलोमिटर सिद्धार्थ राजमार्गमा पर्दछ । यति मात्रै होइन पूर्व पश्चिम राजमार्ग पनि बुटवलको मुख्य बजार क्षेत्र यही सिद्धार्थ राजमार्गको भागमा पर्दछ तर यति महत्वपूर्ण राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत छ वर्षदेखि कुरुपजस्तै छ । 

विगत छ वर्षदेखि यो राजमार्ग क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी सबैले यही सडकका कारण सास्ती खेप्नुपरेको छ । सडक निर्माण समयमै नसकिँदा किनारमा व्यवसाय गरी बसेका धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनी द कञ्चनजङ्घा–बिरुवा जेभीले समयमै काम सम्पन्न नगरेका कारण जनताले सास्ती खेप्नुपरेको हो ।

सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय नै चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महँगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायी प्रत्येक महिना विस्थापित हुने सङ्ख्या बढ्दो अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा निजी अस्पताल तथा औषधि व्यवसाय सञ्चालन गर्दै आएका रामप्रसाद खरेल बताउछन् । “आफ्नै घर हुनेलाई त भाडा तिर्न नपर्दा व्यवसाय सञ्चालन गर्न गाह्रो मात्रै होला तर, महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई त व्यवसायनै छाडेर हिँड्न पर्ने अवस्था यो सडकले बनाएको छ”, उनले भने, “एकातिर महँगो भाडा अर्को सडकको यो अवस्थाले व्यवसायी कसरी टिक्न सक्छ ।”

उनी सडक विस्तारमा ढिलाइ हुनुमा निर्माण व्यवसायीमा व्यावसायिक इमान्दारिता नहुनुनै मुख्य कारण रहेको बताउछन् । निर्माण व्यवसायीले पनि सरकारसँग कामअनुसारको पाउनुपर्ने भुक्तानी नपाउँदा उसले काम अघि बढ्न नसकेको हो यसलाई सरकारी तहबाट समाधानको पहल हुनुपर्ने बताउँदै आएका छन् ।

बुटवल उपमहानगरपालिकाभित्र पर्ने सिद्धार्थ राजमार्गको तीन किलोमिटर सडक विस्तार गर्न डिभिजन सडक कार्यालय बुटवलले विसं २०७३ चैत १७ गते द कञ्जनजङ्घा–बिरुवा जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि छ वर्ष पुग्दा पनि सकिएको छैन । 

बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव विमलराज भट्टराई लामो समयसम्म बुटवलकै मुख्य व्यापारिक क्षेत्रमा सडक निर्माणका कारण प्रभावित भएको र केही व्यवसायी विस्थापित नै भएको बताउछन् । उनले प्रभावित क्षेत्रका व्यापारीलाई कर छुटका लागि उपमहानगरपालिकालाई अनुरोध गरिएकोसमेत बताए । 

व्यवसायीको छाता संस्था रुपन्देही व्यापार सङ्घका उपाध्यक्ष प्रकाश ढकाल सडक विस्तार अलपत्र हुँदा सडक छेउका व्यवसायी प्रभावित भएको बताउछन् ।  व्यवसायी विस्थाापितको कारण सडककै कारण एउटा हुनसक्छ त्यसबाहेक पनि बैंकको चर्को ब्याज र चर्को घरभाडा अझै महत्वपूर्ण रहेको उनको भनाइ छ । 

निर्माण कम्पनीले रु ५३ करोड ९७ लाख ९९ हजार ४६७ मा ठेक्का लिएको थियो । कम्पनीले हालसम्म हाल सम्म रु १३ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होमबहादुर एमसीले बताए । तर, पछिल्लो पटक विसं २०८० असार मसान्तसम्म म्याद थपिए पनि निर्माणको काम भने अहिलेसम्म ३० प्रतिशत पनि प्रगति भएको छैन । 

हालसम्मको काम गरेका भुक्तानी समयमा पाउन नसक्दा कामले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ । कम्पनीले पछिल्लो कामको भुक्तानी बेलहिया बुटवल खण्डको र राजमार्ग चौराहा गोलपार्कको गरी करिब रु छ करोड बढी बाँकी रहेको डिभिजन प्रमुख एमसीले बताए । केही कानुनी प्रक्रियाका कारण भुक्तानी ढिलो भएको तर केही दिनमै भुक्तानी हुने प्रक्रियामा रहेको उनले बताए ।  

निर्माण कम्पनीको अहिलेसम्मको कामको गतिले पछिल्लो निर्धारित समयमा काम सक्न गाह्रो हुने देखिएपछि निर्माण कम्पनीलाई समयमै काम सक्ने लिखित प्रतिबद्धता गराइएको डिभिजन प्रमुख एमसीले बताए । “अहिलेसम्मको कामको गतिले असार मसान्तसम्ममा काम सक्ने अवस्था देखिँदैन, तर कामको गति बढाउने हो भने समयमा सकिन्छ”, उनले भने, “समयमा निर्माण सक्ने गरी कामको गति बढाउने लिखित कागज गराएका छौँ नसके कानुनी प्रक्रियामा जान्छौँ ।”

ठेक्का सम्झौता भएदेखि सुरुमा सडक किनारामा बनेका घर र जग्गा धनी आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने मागसहित कानुनी विवादले लामो समयसम्म सडक विस्तारको काम रोकिएको थियो तर निर्माण कम्पनीले त्यसबेला पनि कानुनी विवादको बहानमा विवाद नभएको क्षेत्रमा समेत काम अगाडि बढाएको थिएन ।  

उच्च अदालत तुलसीपुर बुटवल इजलासले जग्गाधनीको निवेदनअनुसार ‘कानुनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने काम रोकिएको थियो । 

यस अवधिमा जिल्ला प्रशासन कार्यालयले लगत सङ्कलनका लागि सूचना माग गर्दा रिट निवेदकले जग्गाको हाल साविक गरेको र जग्गाधनी लालपुर्जा लिएको देखिएपछि सर्वोच्चले यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने ठहर गर्दै रिट खारेज गरेपछि सडक विस्तारका लागि कानुनी बाटो खुलेको हो ।

सम्बन्धित समाचार

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी

- / शनिबार, चैत १८, २०७९

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘क्यानले चार वटा

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘क्यानले चार वटा विकल्प दिएको थियो’, उनले भने, ‘तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौं ।’

पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको सात सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुई सय ३० मिटर लम्बाइ बनाउने तयारी छ ।

उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिइन् ।

विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण एक दशमलव दुई बिघा र सार्वजनिक जग्गा चार दशमलव आठ बिघा लैजानुपर्छ ।

विमानस्थल बनाउँदा रु छ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ । सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताइन् । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले बताइन् ।

सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार आठ सय ६०, भवनलगायतका सामग्रीलाई तीन अर्ब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन । रातमा हवाई अवतरण गर्न थप चार सय ५० मिटर जमिन चाहिन्छ । यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ । यसमा ‘आइई’ र ‘इआइए’ गर्न दुई वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ ।

टरिगाउँ विमानस्थलमा विसं २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो । त्यतिबेला सीधा दाङ काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवलस्थित तिनाउमा पनि पुल थिएन ।

यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने परिस्थिति थियो । केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरेपनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ । उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ । साढे आठ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ सात सय ५० मिटरको छ भने चौडाइ ३० मिटर छ ।

ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ एक हजार दुई सय मिटरदेखि माथि एक हजार पाँच सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् । हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ ।

Read More

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी

- / शुक्रबार, चैत १७, २०७९

काठमाडौँ । आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् । 

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्य

काठमाडौँ । आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् । 

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा  सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी  सहभागी छन् ।

यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीमध्ये नियमिततर्फको साधारणमा ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेड वृद्धितर्फ दुई हजार तीन सय दुई विद्यार्थी छन् ।

एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा तीन सय ३४ परीक्षा केन्द्रमा तीन सय ३४ केन्द्राअध्यक्ष र पाँच सय ७७ सहायक केन्द्राअध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए । 

Read More
ads-image
ads-image
ads-image
ads-image