थप समाचार मेनु

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

- / शुक्रबार, चैत ३, २०७९ ११:०४

-रासस

कमलामाई । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ ।
 
सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ ।

विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड–१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए ।

जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।” 

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् । 

पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गएकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन्।
 
ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । “राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन् । 

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर–घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन् । 

“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।”

विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् । चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छिन् । 

चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैँले  भ्याइरहेकी छिन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन् । 
 
होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउछिन्। स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी  बताउछन् । बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

- / शुक्रबार, चैत १७, २०७९

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 

चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 

चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो । 

रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घन्टामा तिलाचन ताल पुग्न सकिन्छ ।

रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताए । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्ररूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताए । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पु¥याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ ।

“पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ”, अध्यक्ष बुढामगरले भने, “अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ ।”

स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए । उनले हिउँसँग रमाउन र गर्मी छल्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए । विकले यहाँ घुम्न आउनेले स्थानीय उत्पादन आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामान किनेर लैजाने गरेको सुनाए । 

“यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई–चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दाखेरी लोकल कुखुरा, आलु किनेर यही नै पकाएर खान्छन्”, उनले भने, “स्थानीयलाई पनि पैसा हुने भयो, दुई वर्ष जति भयो धेरै मान्छेहरू आउन थालेको ।”

यो याममा त अझ वरपर फुलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिगताल र तिलाचन तालमा पुग्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन । 

पूर्वीरुकुमबाट घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए । लोकमार्गमा यात्रा गर्दा पूर्वीरुकुमबाट लुकुमगाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइराख्ने बताए । 

“पाँच–छ वर्ष अगाडि यहाँ एकपटक आएको थिएँ, यस्तो चहलपहल थिएन, यहाँ घर पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,” खड्काले भने, “मुख्य कुरा त विकास नै रैछ, यो सडक नबनेको भए यो ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।”

यो स्थानमा बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट एक घन्टामै पुग्न सकिन्छ । बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ । 

Read More

हिमालयन ट्राभल मार्ट जेठमा हुने

- / बिहीबार, चैत १६, २०७९

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा ब

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेको पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
 
    प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । 

    नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।
 
    मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए । उनका  अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् । 

Read More
ads-image
ads-image
ads-image
ads-image